द्रव्यशाहमा ‘विद्यार्थीसँग न्यायिक समिति’ कार्यक्रम
क्याम्पस तहमा अध्ययन गर्ने युवा विद्यार्थीहरुलाई कानूनी साक्षरता तथा शान्ति सुरक्षाको विषयमा जानकारी दिने उद्देश्यले गोरखा नगरपालिकाको न्यायिक समितिले ‘विद्यार्थीसंग न्यायिक समिति’ कार्यक्रम आयोजना गरेको छ ।
स्थानीय तहको न्यायिक समितिले सम्पादन गर्दै आएका काम कारबाहीको बारेमा विद्यार्थीहरुलाई सचेत गराउने उद्देश्यसहित द्रव्यशाह क्याम्पसमा ‘विद्यार्थीसँग न्यायिक समिति’ कार्यक्रम सम्पन्न भएको हो । गोरखा नगरपालिका, न्यायिक समितिको आयोजना तथा क्याम्पसको समन्वयमा बुधबार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा क्याम्पसका स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलार्ई कानुनी साक्षरता तथा शान्ति सुरक्षाको विषयमा अभिमुखीकरण गरिएको सहायक क्याम्पस प्रमुख कुष्णप्रसाद पराजुलीले बताए । ‘क्याम्पसमा अध्ययनरत्त विद्यार्थीहरुलाई कानुनी सचेतना फैलाउने उद्देश्यसहित कार्यक्रमको आयोजना भएको हो’, उनले भने ।
कार्यक्रममा सहभागिलाई अधिवक्ता स्थानेश्वर दुवाडीले कानुनी व्यवस्था र सामान्य काकुनी विषयको बारेमा जानकारी गराएका थिए । यस्तै, जिल्ला प्रहरी कार्यालयको प्रतिनिधिने लागु औषध, महिला हिंसा तथा साइबर अपराधको विषयमा अभिमुखीकरण गराएको सहायक क्याम्पस प्रमुख पराजुलीले जानकारी दिए । उनका अनुसार कार्यक्रममा ५० जना विद्यार्थीरुले सहभागिता जनाएका थिए ।
गोरखा नगरपालिकाको न्यायिक समिति संयोजक एवं नगर उपप्रमुख मसलिमाया थोकरको अध्यक्षता एवं नगरप्रमुख कृष्णबहादुर रानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्याम्पस सञ्चालक समिति अध्यक्ष मनोजप्रसाद धिताल, क्याम्पस प्रमुख एकदेव अधिकारी, न्यायिक समितिका सदस्य सावित्रा थापा, देवेन्द्र बस्नेत, क्याम्पसका प्राध्यापक एवं विद्यार्थीहरुको सहभागिता रहेको थियो ।









