परम्परागत सीप हस्तान्तरणका लागि बिद्यार्थीलाई दुना टपरी बुन्ने तालिम

परम्परागत सीप हस्तान्तरणका लागि बिद्यार्थीलाई दुना टपरी बुन्ने तालिम

गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसका छात्राहरुलाई दुना टपरी बुन्ने तालिम प्रदान गरिएको छ । दुना टपरी बुन्ने परम्परागत सीपलाई पुस्ता हस्तान्तरण गर्ने उदेश्यले तालिम संचालन गरिएको क्याम्पसले जनाएको छ ।

सालको पातबाट दुना, टपरी र बोगता वुन्न सिकाइएको क्याम्पस प्रमुख एकदेव अधिकारीले बताए । ‘मौलिक परम्परा र संकृति जर्गेनासँगै परम्परागत सीप युवापुस्तामा हस्तान्तरण गर्ने उदेश्य हो,’ उनले भने, ‘यो सीप बिद्यार्थीहरुका लागि आर्थिक उपार्जनको माध्यम पनि बन्न सक्छ ।’

पछिल्लो समय बढ्दै गएको प्लाष्टिकका थाल र कचौराको प्रयोगलाई स्थानीय स्रोत साधनबाट निरुत्साहित गर्न पनि तालिमले सहयोग पुग्ने उनको अपेक्षा छ ।

क्याम्पसको सिकौ र सिकाऔ भन्ने अभियान अन्तरगत तालिम प्रदान गरिएको बताइएको छ । अतिरिक्त क्रियाकलापमा छात्राहरुले कम सहभागीता जनाउने भएकाले उनीहरुलाई लक्षित गरी तालिम आयोजना गरिएको क्याम्पस प्रमुख अधिकारीले बताए । तालिम पश्चात उनीहरुबीच दुना टपरी बुन्ने प्रतियोगिता समेत गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

तालिममा दुना टपरी बनाउने सीप हासिल गरेको छात्राहरुको भनाइ छ । ‘यसअघि टपरी भन्ने मात्र सुनेको थिए, दुना र बोगता भन्ने थाहा थिएन,’ छात्रा जोविना तामाङले भनिन्, ‘आज थाहा भयो, बनाउन पनि सिकियो ।’

तालिममा मिरा पुडासैनी र क्याम्पसका शिक्षकहरुले सहजिकरण गरेका थिए ।

Topup – Drabya Shah Multiple Campus